भगवान् छ भन्छन् सबै
तर पाउँदिन म कतै ।
भगवान्ले हेर्छन् भन्छन् सबै
तर मलाई हेरेनन् कहिल्यै ।।
गरिवीमा बाँचिरहेछु म
गहभरिको आँशु पिई ।
संघर्षशिल जीवन जिउँदैछु म
मुक्ति पाउने आशा लिई ।।
दुःखी जिवन जिउँदै जाँदा
भेटे एउटा जीवन साथी ।
तन–मन सुम्पी दिएँ मैले
देवी देउता सारा भाकी ।।
थुप्रै सपना सजाएँ मैले
उनको साथलाई अँगालेर ।
सपना मेरा तोडी गई
मेरो चोखो माया लत्याएर ।।
बाँचिरहेछु आज एक्लै
उनै निष्ठुरी माया सम्झी ।
भुलाउने प्रयास गर्दा पनि
उनकै मुहार देख्छु घरी–घरी ।।
चढाई दिऊँ कि भेटी ईश्वरलाई
उसको सुखद जिवनको लागि ।
मेटाई दिऊँ कि उसकै लागि
यो निरश, दुखी जिन्दगी ।।
उनको झुटो मायामा परी
रातको निद र दिनको भोक हरायो ।
विश्वासघाटी, निष्ठुरी मायाले
सुन्दर जिन्दगी बिगार्यो ।।
मेरो जिन्दगी त यसै बिग्रियो
तर तिमीलाई कहिल्यै पीडा नहोस् ।
मेरो आँखामा आँशु भरिए पनि
तिम्रो आँखामा सँधै खुशी छाइरहोस् ।।
तिम्रो जिन्दगी सफल होस्
यही छ दुःखी हृदयको कामना ।
सुखमय होस् तिम्रो जिन्दगी
यही छ ईश्वरसँग प्रार्थना ।।
