लन्डन — अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले छैठौं युरोपेली सम्मेलन तथा युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगिता गर्ने भएको छ । आगामी अप्रिल २१ र २२ गते लन्डनमा प्रतियोगिता हुनेभएको हो ।

२१ अप्रिलमा युरोपका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुसहितको उपस्थितिमा इनास युरोपको छैठौं युरोप स्तरीय वृहत भेला हुने र दोश्रो दिन छैठौं युरोप महादेश स्तरीय नृत्य तथा तेश्रो महादेश स्तरीय गायन प्रतियोगिता गरिने इनास ग्लोवल मिडिया संयोजक कुशल श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा युरोपका विभिन्न देशबाट गायन र नृत्य विद्यामा दुई–दुई जना र आयोजक देशबाट दुवै विद्यामा तीन–तीन जनाले भाग लिन पाउनेछन् ।
बेलायतबाट इच्छुक सहभागीका लागि १७ फेब्रुअरी २०१८ का दिन लन्डनमा अडिसन गर्न लागिएको इनास यूके संरक्षक एवं ग्लोवल सचिव मनिषकुमार श्रेष्ठले बताए । उक्त अडिशनबाट छानिएका दुवै विद्याका ६ जनाले अन्य देशबाट आएका प्रतियोगीहरुसंग २२ अप्रिलमा हुने युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् ।
प्रतियोगितामा प्रथम हुनेलाई इनास युरोप महादेशका लागि एक वर्ष कार्यकाल रहने गरी इनासको अवैतनिक मानार्थ सद्भावना दूत नियुक्त गरिनुका साथै ‘इनास यूरोप नेपाली डान्सिङ स्टार २०१८’ को उपाधि सहित नगद ७०१ युरो, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा दोश्रो र तेश्रो हुने कलाकारलाई ‘इनास युरोप नेपाली डान्सिङ स्टार फस्ट रनर अप २०१८’ र ‘इनास युरोप नेपाली डान्सिङ स्टार सेकेन्ड रनर अप २०१८’को विशेष उपाधि सहित क्रमश: ५०१ यूरो र ३०१ यूरो नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन्।

SHARE